Politics

इतिहासबाट पाठ नसिके लोकतन्त्र गम्भीर संकटमा पर्न सक्छ : मेयर हेमकर्ण पौडेल

इतिहासबाट पाठ नसिके लोकतन्त्र गम्भीर संकटमा पर्न सक्छ : मेयर हेमकर्ण पौडेल

इटहरी। इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनताको निराशा र असन्तुष्टिकै नाममा तानाशाही शासन जन्मिने गरेको ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै नेपाली समाजले समयमै चेत नलिए लोकतन्त्र गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

ADVERTISEMENT

फागुन २१ गते हुने चुनावको परिवेशमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर पौडेलले जर्मनीमा एडोल्फ हिटलरको उदय र त्यसपछि आएको तानाशाही शासनलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन्। उनले इतिहास केवल किताबमा सीमित नभई समय–समयमा समाजकै आँखै अगाडि दोहोरिने गरेको उल्लेख गरेका छन्।

मेयर पौडेलले लेखेका छन्, “इतिहास किताबमा मात्र होइन, हाम्रो आँखै अगाडि पनि दोहोरिन्छ।”
उनका अनुसार जनताको निराशा, आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाटै हिटलर उदाएका थिए। मिठा भाषण, अरूलाई दोष थोपर्ने प्रवृत्ति र ‘समाधान म मात्र हुँ’ भन्ने भ्रम फैलाउँदै उनले जनताको ताली र भीडको समर्थन बटुलेका थिए। मेयर पौडेलले स्मरण गराउँदै भनेका छन् कि भीडको समर्थनकै आडमा अन्ततः लोकतन्त्र समाप्त गरियो र त्यसको परिणामस्वरूप लाखौँ निर्दोष नागरिकले ज्यान गुमाउनुपर्‍यो। उनले यस्तो इतिहासलाई केवल विगतको घटना भनेर नजरअन्दाज गर्नु खतरनाक हुने बताएका छन्।

नेपालको सन्दर्भ उल्लेख गर्दै मेयर पौडेलले २०१७ सालमा दलीय लोकतन्त्र जनताले नचाहेको भन्दै समाप्त गरिएको इतिहास पनि स्मरण गराएका छन्। जनताको आवाज दबाएर सत्ता कब्जा गर्ने प्रवृत्ति अन्ततः समाज र लोकतन्त्र दुवैका लागि विनाशकारी हुने उनको भनाइ छ। वर्तमान राजनीतिक परिस्थितिप्रति संकेत गर्दै उनले नयाँ भनिने दलहरू पनि व्यवहारमा पुरानै शैलीको ‘सजिएको संस्करण’ जस्तो देखिन थालेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “नारा नयाँ छन्, अनुहार ताजा छन्, तर झुटको खेती उही पुरानो शैलीमा भइरहेको छ।”

मेयर पौडेलका अनुसार वाचा धेरै गर्ने तर जिम्मेवारी सधैँ भोलिका लागि सार्ने प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर खतरा हो। जब झुटलाई ‘परिवर्तन’ को नाम दिइन्छ, त्यही दिन सत्य सबैभन्दा बढी आहत हुने उनको भनाइ छ। 

अन्त्यमा उनले नागरिकलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै गम्भीर प्रश्न उठाएका छन्—
“हामी सचेत नागरिक हौँ कि भीडतन्त्र र लोकतन्त्रको दोबाटोमा उभिएका मौन दर्शक ?

मेयर पौडेलको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले लोकतन्त्र र नागरिक चेतनासँग जोडेर सकारात्मक रूपमा लिएका छन् भने केहीले यसलाई वर्तमान राजनीतिक अभ्यासप्रतिको कडा चेतावनीका रूपमा व्याख्या गरेका छन्।