इटहरीमा ‘नमुना सुपर कप’ अन्तर–कलेज टी–२० क्रिकेट प्रतियोगिता फागुन ७ देखि । कोशी प्रदेशमा क्रिकेट खेलको व्यावसायिक विकास, युवा प्रतिभाको पहिचान तथा कलेजस्तरका खेलाडीलाई उपयुक्त प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले इटहरीमा ‘नमुना सुपर कप अन्तर–स्तरिय कलेज टी–२० क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।
गत सिजनको कोशी प्राइड लिग (KPL) विजेता टोली नमुना ब्लाष्टरको आयोजनामा प्रतियोगिता आगामी फागुन ७ गते (बुधबार)देखि १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
युवा प्रतिभा उजागर गर्ने र कलेजस्तरीय खेलकुदको प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगितामा पूर्वी नेपालका तीन जिल्ला झापा, मोरङ र सुनसरीका ८ प्रतिष्ठित कलेजका क्रिकेट टोलीहरूको सहभागिता रहने निश्चित भएको छ। टी–२० फर्म्याटमा सञ्चालन हुने यस प्रतियोगिताले कलेजस्तरमा लुकेर रहेका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्याउने आधार तयार गर्ने विश्वास आयोजकको छ।
चार दिनसम्म चल्ने प्रतियोगिता इटहरीस्थित जनता पार्क क्रिकेट ग्राउण्ड मा सम्पन्न हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी र शिल्ड पाउनेछ।
त्यसैगरी, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित गरिनेछ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द सिरिज’, ‘बेस्ट बलर’ र ‘बेस्ट ब्याट्सम्यान’ विधामा आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको प्रवर्द्धन इटहरी नमुना कलेज ले गरेको छ भने सुनसरी जिल्ला क्रिकेट संघ को विशेष सहयोग रहनेछ। प्रतियोगितालाई व्यवस्थित र प्रविधिमैत्री बनाउन जीके स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट ले प्राविधिक सहयोग प्रदान गर्नेछ।
खेलकुदले विद्यार्थीमा अनुशासन, सामूहिक भावना र नेतृत्व क्षमता विकास गर्ने विश्वास व्यक्त गर्दै आयोजकले कोशी प्रदेशलाई क्रिकेटको प्रमुख हबका रूपमा स्थापित गर्न यस प्रतियोगिता महत्वपूर्ण हुने जनाएको छ। प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, सञ्चारकर्मी, खेल संघ–संस्था तथा सरोकारवाला निकायलाई उपस्थितिका लागि हार्दिक अपिल गरिएको कार्यक्रम संयोजक गौरव कटुवालले जानकारी दिएका छन्।
