काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत नामिबियाले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य दिएको छ। अरुण जेटली रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको हो। टोलीका प्रमुख ब्याट्सम्यान जान फ्रायलिन्क र जान निकोल लोफ्टी–इटनले उपयोगी योगदान दिएका थिए। फ्रायलिन्कले २६ बलमा ३० रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे भने लोफ्टी–इटनले ३८ बलमा ४२ रन खेल्दै २ छक्का प्रहार गरे।

कप्तान गेरहार्ड इरास्मसले आक्रामक खेल देखाउँदै ९ बलमै १८ रन जोडेको थियो भने जे जे स्मिटले १५ बलमा २२ रन बनाउँदै टीमको रनरेटलाई तीव्र बनाएका थिए। अन्त्यतिर रुबेन ट्रम्पेलमान र डिलन लिचरले महत्वपूर्ण रन थप्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।
बलिङतर्फ नेदरल्यान्ड्सका भान बेक र बास डे लिडे प्रभावशाली देखिए। भान बेकले दुई महत्त्वपूर्ण विकेट लिए भने डि लिडेले नामिबियाको मध्यक्रमलाई दबाबमा राखेका थिए। नेदरल्यान्ड्सलाई जित्न १५७ रनको लक्ष्य रहेको छ, जसका लागि टोलीले आक्रमक खेल प्रदर्शन गर्नु पर्नेछ।