१५ माघ, सुनसरी । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छन्।

Advertisement

अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले समूह चरणमा दुई खेल जित्दै अन्तिम चारमा पुग्न सफल भएकी हुन्। बिहीबार भएको ग्रुप ए को तेस्रो खेलमा उनले घरेलु खेलाडी जसलिन केलाई सोझो सेटमा पराजित गरिन्। मेलवर्न पार्कको वेस्ट कोर्ट–१९ मा भएको खेलमा शिभालीले ६–०, ६–१ को सहज जित हात पारिन्।

यसअघि समूहको पहिलो खेलमा शिभालीले चीनकी जिन्यु झाउलाई कडा प्रतिस्पर्धामा २–१ को सेटमा हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेकी थिइन्। तर ग्रुप ए को दोस्रो खेलमा भने उनी भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भएकी थिइन्।

समूह चरणको खेल सकिँदा ग्रुप ए बाट नेपालकी शिभाली गुरुङ र भारतकी जेन्सी कनाबार सेमिफाइनलमा पुगेका छन्।

सेमिफाइनलमा शिभालीले न्युजिल्याण्डकी मुसेम्मा सिलेकसँग बिहीबार नै प्रतिस्पर्धा गर्ने कार्यक्रम छ। यो खेल मेलवर्न पार्कको वेस्ट कोर्ट–१४ मा हुनेछ। अर्काे सेमिफाइनलमा भारतकी जेन्सी कनाबारले जापानकी आयोइ योसिदासँग मेलवर्न पार्क वेस्ट कोर्ट–१२ मा खेल्नेछिन्।

समूह ए बाट सिलेक र योसिदा पनि दुई–दुई जितसहित सेमिफाइनल पुगेका हुन्।

ब्वाइजतर्फ दक्षिण कोरियाका सियुन किम, अष्ट्रेलियाका टोमी कामुस, अखमादी माखानोभ र थिएन अनह सेमिफाइनलमा प्रवेश गरेका छन्।

एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट खेलाडीहरू सहभागि छन्। प्रतियोगितामा ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका छन्। गर्ल्स र ब्वाइज दुवैतर्फ खेलाडीलाई दुई समूहमा विभाजन गरेर समूह चरणका खेलहरू आयोजना गरिएको थियो।